काठमाडौं । पुरातत्व विभागको टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार पुनर्निर्माणको निरीक्षण गरेको छ ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य लगायतको टोली पुनर्निर्माण स्थल निरीक्षण गर्न पुगेका हो ।
निरीक्षणका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भक्तपुर नगरपालिकाको पुरानो भवनको रुपमा रहेको थन्थु दरबार पुनर्निर्माण कार्य बहुवर्षीय योजनाको रुपमा अगाडि बढाइएको बताएका थिए । उनले दरबार मल्लकालीन शैलीमै पुनर्निर्माण गर्ने योजनाअनुसार नगरपालिका अगाडि बढेको बताए ।
स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मीका अनुसार भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफैं व्यहोर्ने गरी पुरातत्व विभाग समेतबाट नक्सा स्वीकृत गराई पुनर्निर्माण कार्यलाई अगाडि बढाएको हो ।