काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा समुदायस्तरमा नै हैजाको संक्रमण फैलिएको छ । तर, हैजाको स्रोत अझै पत्ता लागेको छैन ।
गएको शुक्रबार ९भदौ ६०यता वीरगन्जका वडा नम्बर ११, १२ र १३ मा हैजा संक्रमित भेटिएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले हालसम्म वीरगन्जमा ७९ जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
उनले भने, “आइतबार बेलुका ८ बजेसम्म हैजाका संक्रमित ७१ जना भेटिएका थिए । सोमबार बिहानसम्म थप आठजना हैजाका संक्रमित भेटिएका छन् ।”
१०३ जना विभिन्न अस्पतालमा भर्ना भएर उपचाररत छन् । “हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन,” उनले भने, “विश्व स्वास्थ्य संगठनलगायत प्रतिनिधिले आइतबारदेखि यहाँका पानीको परीक्षणलगायत गरिरहनुभएको छ । सम्भवतः आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखेका छौँ ।”
कतिपय बिरामीले परीक्षण गराउन नमानेका वीरगन्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा। उदयनारायण सिंहले बताए । “वडा नम्बर ११, १२ र १३ का सर्वसाधारण प्रभावित भएको देखिन्छ । कतिपय त सिकिस्त भएर पनि अस्पताल आउने गरेका छन्,” उनले भने, “अस्पताल आएका सबैको परीक्षण गर्न भ्याइएको छैन । कतिले त परीक्षण गर्न मान्दैनन् ।”
पछिल्लो तीन दिनमा नारायणी अस्पतालमा पुगेर उपचार गराउनेको संख्या १०० भन्दा धेरै छ । उनीहरूमध्ये २६ जनामा हैजा पुष्टि भएको डा। सिंहले जानकारी दिए । हिजोअस्तिको तुलनामा सोमबार ९भदौ ९० अस्पताल आउने बिरामीको संख्या कम रहेको उनको भनाइ छ ।
“एकजना ३५ वर्षीय पुरुषलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको पाइयो, हैजा पुष्टि भने भएको छैन । शंकास्पद छ,” उनले भने ।
धेरै बिरामी उपचारपछि घर फर्किएका पनि उनले बताए । “नारायणी अस्पतालमा हैजाको उपचारको लागि शय्या र जनशक्ति दुवैको अभाव देखिएको छ,” उनले भने, “अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक पर्ने सहयोग आइपुगिसकेको छैन । अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचारका सामग्री आइपुगिसकेको छैन ।”
प्रवक्ता सिंहले हैजा महामारीका साथसाथै अरू बिरामीको चाप पनि थेग्न नसकिने रहेको गुनासो गरे । “हामीले यो महामारीबाहेक अन्य खालका विभिन्न महामारीसँग पनि लडिरहेका छौँ । सर्पदंशको बिगबिगी छ । ज्वरो, प्यारालाइसिसलगायत बिरामीको चाप भए पनि जनशक्ति पर्याप्त नहुँदा भने व्यवस्थापन गर्न मुस्किल भइरहेको छ,” उनले भने, “भएका जनशक्तिले अत्यधिक काम गर्न परिरहेको छ । तर, अस्पतालमा अहिले आन्तरिक र बाह्य दुवै खालको सहयोग छैन ।”