सूर्यविनायकबाट धुलिखेलसम्मको ६ लेन सडक विस्तारको काम सुस्त

  • १९१
  • शनिबार, २७ माघ २०८०

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर लामो सडक छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार ३६ महिनाभित्र सम्पन्न गर्न छुट्टाछुट्टै दुई चरणमा सडक विस्तार सुरु गरिएको एक वर्ष बितिसक्दा करिब २० प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।

विसं २०७९ पुस २४ गते आशिषकुमार श्रेष्ठ वन्दना भगवती जेभी र लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका थिए । सडक विस्तार गर्न सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्डका लागि रु तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तार बजेट अभावका कारणले सुस्ताएको आयोजनाको भनाइ छ । सडक विस्तारका क्रममा रहेका अस्थायी घरटहरा र संरचना भक्तपुर जिल्ला प्रशासन कार्यालय र सूर्यविनायक नगरपालिकाको सहयोगमा भत्काउने काम भएको आयोजनाका सुचना अधिकारी नारायण प्रसाद लामिछाने बताए ।

अस्थायी तथा स्थायी संरचनाले सडक विस्तारमा अवरोध पुग्ने गरेकाले बीचबीचमा काम छाड्दै अगाडि बढ्नुपरेको र स्थायी संरचना हटाउनेबारेमा छिटो निर्णय गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरिएको उनको भनाइ छ । आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको हो, तर यस वर्ष सरकारले रु ५४ करोड अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेकाले काम सुस्ताएको सुचना अधिकारी लामिछाने बताएका छन् । बजेट माग गर्दै आयोजना प्रमुखलगायत कर्मचारी भौतिक पूर्वाधार मन्त्रालयदेखि अर्थ मन्त्रालयसम्म धाइरहेका र बजेट आउने आश्वासन भने आइरहेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ सूर्यविनायकबाट साँगासम्मका अस्थायी संरचनाका साथै घरटहरा हटाउने काम भइरहेको बताउछन् । सूर्यविनायक नगरपालिकाको समन्वयमा अस्थायी संरचना हटाउने काम भइरहेको र स्थायी संरचना हटाउन भने प्रतिवेदन र मूल्याङ्कनको प्रतिक्षामा रहेको उनको भनाइ छ ।

स्थायी टहरा हटाउनेबारेमा जिम्मेवार निकायबाट प्रतिवेदन आउने र त्यस्ता संरचनाको मूल्याङ्कनसहितको मुआब्जा दिनेबारेमा निर्णय भएर प्रक्रिया अगाडि बढेपछि स्थायी संरचना पनि हटाइने भएको छ ।जमार्गको मापदण्डअनुसार हाल भवन तथा जग्गाको लगत सङ्कलन भएको छ । सडकको बीचबाट दायँबायाँ २५–२५ मिटरको मापदण्डअनुसार कार्यालयले राजमार्गअन्तर्गत पर्ने चार नगरलाई सहयोगका लागि पत्राचार गरेको थियो ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गर्यो । यही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको बताइन्छ ।

सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी नाका खुला भए यो सडकखण्डमा अझै सवारीसाधनको चाप बढ्ने पक्का छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारीसाधन मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ ।

सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार हुन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आउजाउ गर्दै आएका छन् ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com