वत्सला मन्दिरबारे नगर प्रमुख सुनिल प्रजापति मन्तव्य

  • ९६
  • आइतबार, ११ पौष २०७८


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे(रोहित)बाट नृत्य वत्सला मन्दिरको उद्घाटन र उक्त मन्दिरको बिषयमा लेखिएका विभिन्न महत्वपूर्ण लेखहरु र निर्माण सम्बन्धी सम्पूर्ण विवरण संग्रह गरिएको पुस्तक नृत्य वत्सला मन्दिर पुनःनिर्माण २०७८ पुस्तकको सार्वजनिकीकरण गर्ने अवसर पाउँदा हामी अत्यन्त खुशी छौं ।

भक्तपुर क्षेत्रफलको हिसाबले देशकै सानो नगरमध्ये एक हो तर सांस्कृतिक सम्पदाको दृष्टिले भने यो नेपालकै एक महत्वपूर्ण नगर हो । मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणमा भक्तपुर नगरपालिकाले अग्रणी भूमिका खेल्दै आएको छ । सांस्कृतिक नगरको उपमा पाएको भक्तपुरलाई कतिपय संस्कृतिविद्हरू र विद्वान्हरूले ‘नाचगानको राजधानी’ को रूपमा परिभाषित गर्नु भएको छ ।

१२ औं देखि १५ औं शताब्दीसम्म नेपाल मण्डलको राजधानी शहरको रूपमा रहेको भक्तपुरमा मल्लकालीन समयमा थुप्रै महत्वपूर्ण सम्पदाहरूको निर्माण भएको देखिन्छ । ङातापोल्हँ मन्दिर, भैरवनाथको मन्दिर, ५५ झ्याल दरबार, लुँढोका, वत्सला मन्दिरलगायत भक्तपुर दरबार क्षेत्रमा अवस्थित थुप्रै सम्पदाहरू मल्लकालीन काष्ठकला, धातुकला र प्रस्तरकलाका अनुपम एवं बेजोड कलाकारिताका नमुनाहरू हुन् ।

वत्सला मन्दिर नेपाल संवत् ७९८ मा राजा जितामित्र मल्लको पालामा बनेको इतिहास छ । उक्त मन्दिर २०७२ सालमा गएको विनासकारी भूकम्पबाट पूर्ण रूपमा क्षति ग्रस्त भयो । त्यसको अलावा भक्तपुरका १२० भन्दा बढी सम्पदाहरू उक्त भूकम्पबाट आंशिक र पूर्ण क्षति भयो । हालसम्म भक्तपुर नगरपालिकाले ११८ वटा सम्पदाहरु पुनः निर्माण र जिर्णोद्घार सम्पन्न गरी सकेको छ भने अझ कैयौं सम्पदाहरु निर्माणाधिन अबस्थामा छन् । हामी हाम्रा सबै सम्पदाहरुलाई देशको सम्पत्तिको रुपमा ग्रहण गर्दै ती सबैको संरक्षण गर्नु आफ्नो कर्तव्य ठान्छौं र यही भावनाले संरक्षणको कामलाई प्राथमिकतामा राख्दै भक्तपुर नगरपालिकाले काम गर्दै आएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि नहुँदा पुनःनिर्माणको लागि निकै ठूलो चुनौति व्यहोर्नु प¥यो । भक्तपुर नगरपालिकाले त्यस प्रतिकूल अवस्थामा पनि स्थानीय जनताको सहयोगमा उपभोक्ता समितिमार्फत नृत्य वत्सला मन्दिर पुनःनिर्माण गर्ने निर्णय ग¥र्यो । तत्कालीन भक्तपुर नपा वडा नं. १३ का पूर्व वडाध्यक्ष रामहरी गोराको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी निर्माण कार्य अगाडि बढाइयो । स्थानीय स्रोत र साधन तथा स्थानीय जनताको सीप र दक्षता प्रयोग गरी सम्पदा पुनःनिर्माण गर्नु पर्ने मान्यता भक्तपुर नगरपालिकाले राख्दै आएको छ । उपभोक्ता समितिमार्फत सम्पदाहरूको पुनःनिर्माण गर्दा निर्मित संरचना गुणस्तरीय हुनुका साथै सम्पदामाथि जनताले अपनत्व महसुस गर्ने हुँदा भक्तपुर नपाले यस नीतिलाई निरन्तरता दिँदै आएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनपछि उक्त मन्दिर पुनःनिर्माणले गति लियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्षका. नारायणमान बिजुक्छेँ
(रोहित) ले यस मन्दिर पुनःनिर्माणमा निकै चासो लिएर चाँडो सम्पन्न गर्न हामीलाई घच्घच्याउनु भएको थियो । उहाँ स्वयम्ले उक्त मन्दिर निर्माणाधीन अवस्थामा पटक पटक स्थलगत अवलोकन गर्नु भयो र त्याहाँ कार्यरत प्राविधिक, कालिगड र उपभोक्ता समितिका साथीहरू र हामी जन प्रतिनिधिहरुलाई हौसला प्रदान गर्नु भएको थियो ।

वत्सला मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले रु. १ करोड २८ लाख ६२ हजार लगत इस्टमेट पारित गरेको थियो । उपभोक्ता समितिमार्फत आवधिक योजना राखी काम गर्दा रु. ७७ लाख १३ हजार खर्चमै पुनःनिर्माण सम्पन्न भयो । स्थानीय जनताको सहयोगमा सम्पदा पुनःनिर्माण भइरहेकोमा विभिन्न देशका नागरिकहरूसमेतबाट रु. ६ लाख २७ हजार ५ सय १० सहयोग प्राप्त भएको छ । नेपाली वास्तुकला र यहाँको कार्यशैली प्रति उहा“हरूले देखाउनु भएको सद्भाव र सहयोगप्रति भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौ ।

प्रत्यक्ष जन सहभागिताको आधारमा जन श्रमदान, आर्थिक सहयोग जुटाई मौलिक सीप र प्रविधि तथा स्थानीय निर्माण सामग्रीको प्रयोग गरी सम्पदा पुनःनिर्माण आज भक्तपुरको विशेषता बनेको छ । जन स्तरबाटै रु.५० लाख भन्दा बढी आर्थिक सहयोग संकलन गरी हालै सम्पन्न खोह्र ध्वाखा, रु. १६ लाखभन्दा बढी आर्थिक सहयोग र ४ हजार २ शयभन्दा बढीको जन श्रमदान तथा रु. ५ लाखभन्दा बढीको भौतिक सहयोगमा केही समय अघि जिणोद्घार सम्पन्न ङातापोल्हं मन्दिर र भैरव नाथ मन्दिरलगायतका सम्पदाहरुको जिर्णोद्घार तथा पुनःनिर्माणले भक्तपुर बासी जनताको सम्पदा प्रतिको माया, प्रेम र संरक्षणको भावना प्रष्ट पारेका छन् ।

विश्व सम्पदामा सूचीकृत दरबार क्षेत्र साँस्कृतिक र ऐतिहासिक दृष्टिले एक महत्वपूर्ण ठाउँका साथै सम्पदाहरुको संरक्षणको दृष्टिले भक्तपुरको केन्द्र नै मानिन्छ । जर्मनी बास्तुकलाबिद् नील गोत्सोले भक्तपुरलाई संसारकै ठूलो जिवित संग्रहालय भनी प्रशंसा गर्नु भएको छ । भक्तपुरमा विभिन्न देशबाट बर्षेनी लाखौ“को सङ्ख्यामा पर्यटकहरू आउने गर्छन् र भक्तपुरका कलाकारिताका अनुपम र बेजोड सम्पदाहरूको रसास्वादन गर्छन् । यो भक्तपुरवासीहरू सबैको निम्ति गर्वको विषय हो । तिनै पर्यटकहरुले बुझाएको शुल्क आज भक्तपुरको आन्तरिक आयको महत्वपूर्ण श्रोत बनेको छ । पर्यटक शुल्कको अधिकाँश रकम सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्य जस्ता विषयहरुमा नगरपालिकाले खर्च गर्दै आएको छ ।

विदेशी सहयोग, गैरसरकारी संस्था(एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था (आइएनजिओ)हरूको सहयोग बिना पनि स्थानीय जनताकै सहयोगमा सम्पदाहरूको जीर्णोद्धार र पुनःनिर्माण सम्भव छ भन्ने कुरा भक्तपुर नगरपालिकाले पुष्टि गर्दै आएको छ । हामी आत्मनिर्भरताले मात्रै आत्मगौरव प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्छौं । यही सोच र दृष्टिकोणले नै भक्तपुर नगरपालिकालाई कला—संस्कृति संरक्षित नगरको पहिचान बनाउन सफल भएको छ ।

यस मन्दिर पुनःनिर्माणको बेला समय समयमा अवलोकन गरी सबैको हौसला बढाउनु हुने नेमकिपाका अध्यक्ष का.नारायणमान बिजुक्छेँज्यूलाई भक्तपुर नगरपालिकाको तर्फबाट आभार व्यक्त गर्दछौ । जनप्रतिनिधि नभएको अवस्थामा पनि पुनःनिर्माणको लागि पहल गर्नु हुने भक्तपुरको पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदाहरूको उत्खनन तथा पुनःनिर्माण समितिको संयोजक वर्तमान सङ्घीय सांसद प्रेम सुवालज्यूलगायत समितिका सम्पूर्ण सदस्यहरू, प्राविधिक समिति, उपभोक्ता समिति, अनुगमन समितिका सम्पूर्ण सदस्यहरू र जनप्रतिनिधि साथीहरू प्रति पनि हार्दिक आभार प्रकट गर्दछौ ।

मन्दिर पुनःनिर्माणमा निरन्तर खट्नु भएका उपभोक्ता समितिका सदस्यहरु, लोहकर्मी कान्छा रन्जितकार, डकर्मी श्याम त्वायना, भक्तपुर नगरपालिका सम्पदा शाखा, मन्दिर पुनः निर्माणको अबस्थामा व्यापक प्रचार प्रसार गरी सहयोग गर्नु हुने पत्रकार साथीहरू र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबै महानुभावहरुलाई पनि भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । यहाँहरूको अमूल्य राय, सुझावहरूको सम्मान गर्दै भक्तपुरको कला संस्कृतिको संरक्षणलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्तगर्दछौ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.