भारतका कोठीमा नेपाली महिलाका नारकीय दिन

  • १५८
  • सोमबार, ६ मंसिर २०७८


काठमाडौँ । गत वैशाख १७ गते २५ वर्षीया युवती नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोमा आइपुगिन् । किटानी जाहेरी बोकेर आएकी ती युवतीले भोगेको कथा ब्युरोका अनुसन्धान अधिकारीका निम्ति नयाँ थिएन तर मनै रुवाउने खालको भने थियो ।

२२ वर्षको उमेरमा रोजगारीको प्रलोभनमा परेर भारतको नयाँ दिल्लीस्थित एउटा कोठी ९देहव्यापारको अखडा० मा बेचिएकी उनी तीन वर्षपछि अनेकन रोग, वर्षौंसम्मको मानसिक प्रताडना र जीवनभर भुल्नै नसक्ने दुःखका भारी बोकेर, जेनतेन उम्केर नेपाल फर्केकी थिइन् ।

प्रहरीको मानव बेचबिखन ब्युरोले आर्थिक वर्ष २०७७र७८ मा मात्रै भारतका विभिन्न यौन कोठीमा बेचिएर उद्धार भएका वा उम्केर आएका ६ पीडितका घटनामा पहिलो चरणको अनुसन्धान सकेको छ । यी घटनामा ६ नेपाली महिलाले भारतका विभिन्न कोठीमा कुल साढे १५ वर्ष बिताएको देखिन्छ । ६ मध्ये ४ जनाको उमेर २० वर्ष छ भने २ जना २० वर्षमाथिका र एक जना १७ वर्षकी छन् । अधिकांश पीडित निरक्षर वा अर्धसाक्षर पृष्ठभूमिका र विपन्न समुदायका छन् । २५ वर्षीया युवतीले सुनाएजस्तै अधिकांश आर्थिक विपन्नता र घरेलु हिंसाबाट उम्केर सुखी जीवन बिताउने लालसामा परेर कोठीसम्म पुगेको देखिन्छ । यी ६ घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका १० जनामध्ये ८ जना पुर्पक्षका लागि थुनामा छन् भने एक जना धरौटीमा छुटेका छन् । बाँकी एक जनालाई थुनामा राखेर अनुसन्धान चलिरहेको देखिन्छ ।

यौन कोठीमा बेचिएका सबै युवतीको गन्तव्यमा देखिने समानता भनेको ६ मध्ये चार जनालाई नयाँ दिल्लीस्थित विभिन्न कोठीमा पुर्‍याइएको थियो भने बाँकी दुई जनामध्ये एकलाई मुम्बई र अर्की एकलाई कोलकाताको कोठीमा पुर्‍याइएको देखिन्छ । फरक–फरक यी ६ घटनाको अध्ययन गर्दा संगठित मानव तस्करका नेपाली एजेन्टहरूले युवतीलाई सहजै स्थलमार्गबाट सीमा कटाएर भारतका मुख्य सहरमा सञ्चालित कोठीमा पुर्‍याइरहेको देखिन्छ । उद्धार भएर वा भागेर आएका युवतीहरूले कम्तीमा एक महिना र बढीमा ६ वर्षसम्म यौन कोठीमा नारकीय जीवन बिताएको खुलेको छ । कोठीमा बेचिएका अधिकांश युवतीको साझा कथा भनेको उनीहरूको गरिबी जोडिएको पृष्ठभूमि र निरक्षर वा अर्धसाक्षर हैसियत हो ।

जस्तो कि, २५ वर्षीया युवती गरिबीका कारण सानैदेखि काठमाडौंमा घरेलु कामदारका रूपमा काम गर्थिन् । १५ वर्षको उमेरमा प्रेम विवाह गरेकी उनी विवाहपछिका वर्ष घरेलु हिंसाको सिकार हुन थालिन् । एकपटक त उनले भोगेको हिंसा महानगरीय प्रहरी वृत्त बालाजुमा पनि पुगेको थियो तर प्रहरीले मिलापत्र गराइदिएपछि घर फर्किन् । श्रीमान्को टोकसो सहेर छोरी हुर्काइरहेका दिनमा उनको चिनजान श्रीमान्का परका नाता पर्ने जान्द्रे भन्ने रामबहादुर तामाङसँग भएको थियो । श्रीमान्सँग जान्द्रे उनको डेरामा आइराख्थे, उनलाई नाता लगाउँदै भान्जी सम्बोधन गर्थे ।

आवरणमा ट्याक्सी चालकको काम गरे पनि जान्द्रे परिबन्धमा फसेका युवतीलाई रोजगारीको प्रलोभन देखाउने र उनीहरूलाई स्थलमार्ग हुँदै भारत पुर्‍याएर यौन कोठीमा बेच्ने काम पनि गर्थे । प्रहरी बयानमा जान्द्रेले २०७१ सालमा घर गएका बेला नुवाकोटको घ्याङफेदी घर भई नयाँदिल्ली बस्ने अञ्जली लामासँग चिनजान भएको बताएका छन् । तिनै अञ्जलीले भेटमा उनलाई कोही केटी भए ल्याउन र त्यसबापत मनग्गे पैसा बुझ्न प्रलोभन देखाएकी थिइन् । त्यही सम्पर्कपछि जान्द्रे केटी खोज्ने र भारत पुर्‍याउने काममा जोडिएका थिए । उनले घरेलु हिंसा सहिरहेकी युवतीलाई भान्जीको साइनो लगाएर रोजगारीको प्रलोभन देखाए ।

साडीमा बुट्टा भर्ने काम मिलाइदिने र मासिक १० हजार भारु कमाइ हुने आशा देखाएपछि युवती प्रलोभनमा फसिन् । २०७४ साउनको अन्तिम सातातिरको कुरा हो । युवती खुसुक्क घरबाट निस्किन् । जान्द्रेसँगै डेरा गरी बस्ने ट्याक्सी चालक जितबहादुर तामाङ उनलाई लिन ट्याक्सी लिएर आए । जीतबहादुरसँग पनि युवतीको पुरानै चिनजान थियो । गृह जिल्ला एउटै भएकाले जितबहादुर टाढाको नाता जोड्दै युवतीलाई मामाकी छोरी भनेर बैनी सम्बोधन गर्थे ।

स्वयम्भूबाट जान्द्रेले युवतीलाई बस चढाएर भैरहवा पुर्‍याए । सीमा नाकामा खटिएका प्रहरीको आँखा छलेर युवतीलाई भारत पुर्‍याउने जिम्मा अञ्जलीले मुस्कान चौधरीलाई दिएकी थिइन् । जान्द्रेले मुस्कानसँग सम्पर्क गरे । मुस्कानले युवतीलाई मोटरसाइकल चढाएर सीमापारिको नौतुना पुर्‍याए । जान्द्रे पनि नौतुना आइपुगेपछि उनीहरू बस चढेर दिल्ली पुगे । पीडितले दिएको प्रारम्भिक बयानमा दिल्ली पुर्‍याएपछि उनलाई जान्द्रेले अञ्जलीको जिम्मा लगाए । अञ्जलीको फ्ल्याटबाट युवतीलाई अटो चढाएर दिल्लीकै जीपी रोडस्थित एउटा घरमा पुर्‍याएर एक अपरिचित भारतीय महिलको जिम्मा लगाएपछि उनका अप्ठ्यारा समय सुरु भए ।

ती भारतीय महिलाले उनलाई जीपी रोड नम्बर ५९ मा रहेको एउटा कोठीमा पुर्‍याइन् । सुरुका चार दिन उनले रोएरै बिताइन् । केही सीप नचलेपछि उनी अरूजस्तै यौन कर्ममा लाग्न बाध्य भइन् । उनले प्रहरी बयानमा भनेकी छन्, ‘दैनिक १५ देखि २० जनासँग यौन सम्पर्क गर्न लगाइयो ।’ बेला–बेला प्रहरीले कोठीमा छापा मारे पनि सञ्चालकले उनीहरूलाई लुकाउने गरेको उनले बयानमा बताएकी छन् ।

एक वर्षपछि उनलाई त्यहाँबाट सञ्चालकले दिल्लीकै ६४ नम्बर कोठीमा पुर्‍याए । निरन्तरको बाध्यात्मक यौन सम्बन्धबाट उनको स्वास्थ्य बिस्तारै बिग्रन थालेको थियो । उनले बयानमा भनेकी छन्, ‘दिनमै चाररपाँच पटकसम्म रगत बग्न थाल्यो । पाठेघरमा पनि समस्या बढ्दै गयो ।’ निरन्तर बिरामी भएपछि उनलाई अस्पतालमा उपचार गर्न जाने छुट मिल्यो । त्यही समयलाई उनले तीन वर्ष लामो नारकीय जीवनबाट फुत्कने मौकाको रूपमा सदुपयोग गरिन् । उनलाई स्पष्ट सम्झना छ, स्वतन्त्रताको त्यो दिन– ३ वैशाख २०७८ ।

नेपाल फर्केपछि उनले दिएकै जाहेरीका आधारमा प्रहरीले १३ कात्तिकमा नुवाकोटको तारकेश्वर नगरपालिका ७ घर भई काठमाडौंको फुटुङमा बस्ने जान्द्रे भनिने रामबहादुर तामाङलाई पक्राउ गर्‍यो । त्यसअघि नै जीतबहादुर प्रक्राउ परिसकेका थिए । ब्युरोकी एसएसपी दुर्गा सिंहका अनुसार आफन्तीका नाममा निकालेको चार फरक–फरक सिम प्रयोग गरेर प्रहरीलाई झुक्याउँदै आएका जान्द्रे अन्ततः राति ८ बजेतिर डेराबाटै पक्राउ परेका थिए ।

जान्द्रेले प्रहरीसँगको प्रारम्भिक बयानमा पीडित युवतीलाई भारतको दिल्लीस्थित यौन कोठीमा एक लाख भारुमा बेचेको बयान दिएका छन् । यसरी प्राप्त रकममध्ये काममा सघाउने जितबहादुरलाई पचास हजार रुपैयाँ दिएको पनि उनले बताएका छन् । भारतका विभिन्न यौन कोठीबाट फुत्केर वा उद्धार भएर नेपाल आएका पीडितले प्रहरीलाई दिने बयानमा एउटा समानता भेटिन्छ, त्यो हो– उनीहरूले आफूजस्तै थुप्रै नेपाली महिलालाई यौन कोठीमा देखे–भेटेका थिए । २५ वर्षीया पीडित युवतीले पनि प्रहरी बयानमा भनेकी छन्, ‘त्यहाँ अरू थुप्रै नेपाली छन् ।’

ह्युमन राइट्स वाच एसिया शाखाले सन् १९९५ मा भारतका यौन कोठीमा बेचिएका नेपाली महिलामाथि विस्तृत अनुसन्धान प्रतिवेदन प्रकाशित गरेको थियो । रेप फर प्रोफिट शीर्षकमा प्रकाशित उक्त रिपोर्ट मुम्बईका कोठीमा केन्द्रित थियो । उक्त अनुसन्धानमा मुम्बईका कोठीमा मात्रै कम्तीमा २० हजार र बढीमा ५० हजारसम्म नेपाली महिला कार्यरत रहेको अनुमान गरिएको छ । त्यसरी कार्यरतमध्ये धेरैजसो निरक्षर र अधिकांश तामाङ, गुरुङ, मगर र शेर्पाजस्ता जनजाति समुदायको भएको उल्लेख छ । यसरी काम गर्नेमध्ये ६० प्रतिशत युवती र महिला एचआईभी संक्रमित भएको पनि रिपोर्टमा छ ।

उक्त रिपोर्टमा भारतमा करिब २ लाख नेपाली मुम्बई, कोलकाता, दिल्ली, पुने र नागपुरका यौन कोठीमा कार्यरत रहेको र हरेक वर्ष त्यहाँ ५ देखि ७ हजार थपिने गरेको उल्लेख छ । उक्त अनुसन्धान प्रकाशित भएपछिका २६ वर्षमा पनि अवस्था उतिधेरै फेरिएको छैन । ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले २०५४ मा इन्स्पेक्टरमा नाम निकाल्दा नेपाल प्रहरीले केही महिनाअघि मात्रै महिला बालबालिका सेवा निर्देशनालय खोलेको थियो । जागिरे जीवनको सुरुवातमै उनले ललितपुरको महिला सेलमा काम थालिन् । त्यतिबेला पनि दुर्गाले भारतका यौन कोठीमा नेपाली महिला बेचिएका थुप्रै दुर्दान्त कथा सुनेकी थिइन् र त्यस्ता घटनामा परेकाको उद्धार, बयान र मनोपरामर्शमा संग्लन भएकी थिइन् ।

प्रहरी सेवाको अधिकांश समय महिला सेलमा काम गरेकी उनले मानव बेचबिखन ब्युरोको नेतृत्व सम्हालेयता यौन कोठीमा बेचिएका महिलालाई न्याय दिलाउनमै बढी केन्द्रित गरेकी छन् । उनले अनुभवको सार खिचेर सुनाइन्, ‘रोजगारीको खोजीमा काठमाडौं आएका निरक्षर महिला मानव तस्करको चंगुलमा परेर भारतका कोठीमा पुग्ने गरेका छन् ।’ उनले स्थानीय निकायले आफ्नो क्षेत्रका नागरिक कहाँ गइरहेका छन्, के काममा पुग्ने गरेका छन् भन्नेबारे सामान्य मात्रै चासो राख्ने हो भने पनि यस्तो खालको मानव तस्करी कम गर्न सकिने बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोगले २०७६ मा प्रकाशित गरेको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा मानव बेचबिखनमा परेकाको यकिन तथ्यांक सरकारी निकायसँग नहुने र दर्ता हुने मुद्दाको संख्याले मानव बेचबिखनको पूर्ण चित्र बुझाउन नसक्ने उल्लेख छ । उक्त प्रतिवेदनमा नेपाल र भारतमा यौन व्यवसाय नै मानव बेचबिखनको मुख्य समस्या रहेको बताइएको छ । प्रतिवेदनमा प्रहरीले दिएको तथ्यांकलाई आधार मान्दै आर्थिक वर्ष २०७५र७६ मा हराएकामध्ये करिब ३८ प्रतिशत फेला नपर्ने र तीमध्ये अधिकांश बालिका हुने गरेको भन्दै तिनीहरू भारतीय यौन तथा श्रम बजारमा बेचिएको हुनसक्ने आशंका गरिएको छ ।

घट्दो छ मुद्दा दर्ता

ब्युरोका अनुसार आर्थिक वर्ष २०७३र७४ मा मानव बेचबिखनका २ सय १२ मुद्दा प्रहरीमा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७४र७५ मा २ सय २७ मुद्दा मात्रै दर्ता भएका छन् । आर्थिक वर्ष २०७४र७५ मा यो संख्या बढेर ३ सय ५ पुगेको छ भने आर्थिक वर्ष २०७५र७६ मा यो संख्या घटेर २ सय ५८ मा सीमित भएको छ । आर्थिक वर्ष २०७६र७७ मा मानव बेचबिखनका मुद्दा दर्तामा उल्लेख्य कमी आएर १ सय ३६ भएको छ । यो संख्या आर्थिक वर्ष २०७७र७८ मा अझै घटेर १ सय ३४ भएको छ । जनकराज सापकोटा (कान्तिपुर)

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.