नेपाल कसरी युरोपका लागि मानव तस्करीको ‘निर्यात मुलुक’ बनिरहेको छ ?

  • ८५
  • बिहीवार, २५ कार्तिक २०७८

 

बार्सिलोना । धन कमाउने रहर, विदेशले तान्यो । तर अहिले धनको कुरा छोडदिउँ मन नै बेचैन छ । जीवनको अध्याय नै फेरियो । समयले ठूलो उतार–चढाव ल्याइदियो । बाँच्न धिक्कार सम्झिएर उनले कति पटक त मर्ने प्रयास गरिन् । आखिरमा बाँचिन् उनी ।

२६ वर्षीया श्रेया खत्री (नाम थर परिवर्तन) सामान्य परिवारमा जन्मिएकी थिइन् । नेपालमा गएको महाभूकम्प लगत्तै उनी दुबई गएकी थिइन् । घरमा बुबा बिरामी भएको खबरपछि दुई वर्षमा नेपाल फर्किइन् ।

सामान्य पढाइ लेखाइ मात्र भएकाले उनले नेपालमा राम्रो रोजगारको कुनै सम्भावना देखिनन् । विदेश नै जाने सोच बनाएकी उनी काठमाडौंको डेल्टा म्यानपावर (यकिन नाम नखुलेको) मार्फत सन् २०१८ अगष्टको दोस्रो साता टर्की उडिन् । त्यहाँ हाउस किपिङको कामका लागि श्रेयालाई मासिक ५ सय डलर तलब दिने भनिएको थियो । त्यसका लागि टर्की आउन उनले ३ लाख रुपैयाँ खर्च गरेकी थिइन् ।

तर सबैकुरा भनेजस्तो भएन । भने बमोजिमको तलब पाइनन् । ‘५ सय डलर तलब हुन्छ भनियो । १२ सय टर्किस लिरा मात्रै मिल्यो । त्यो भनेको झन्डै १४–१५ हजार रुपैयाँ मात्रै हो । निकै कम तलब पाएपछि म्यानपावरमा सम्पर्क गरेकी थिएँ’, विरक्तिएको भावमा उनले भनिन्, ‘फोनमा मेरो गुनासो सुनेपछि म्यानपावरका एजेन्टले फोन नै ब्लक गरिदियो ।’

जेनतेन ६ महिना अंकरामा नै बसेर काम गरिन् । धेरै काम थोरै कमाइ, खासै बच्दैनथ्यो । तै पनि श्रेयाले आश मारिनन् । नयाँ सपना बुनेर टर्कीकै इस्तानबुल पुगिन् । उनले त्यहाँ एक वर्ष काम गरिन् । तर कोभिड-१९ का कारण लकडाउन सुरु भएपछि त्यहाँ पनि कामकाज ठप्प भयो ।

यसपछि नयाँ आशासहित उनको युरोप सपना सुरु भयो । बाध्यतामा फसेको मान्छे एक ठाउँमा ठक्कर खाएपछि पनि फेरि अर्का ठाउँका लागि तयार हुँदो रहेछ । तर उनको जीवनमा एकातिर टाल्यो फेरि अर्कोतिर भ्वाङ पर्ने हुँदै गयो । श्रेयाका दुःखका अध्यायहरु थपिदै गए ।

उनले अब नयाँ यात्रा तय गर्नुपर्ने थियो । टर्कीदेखि ग्रिस, अलबानिया, बोस्निया, क्रोयसिया, स्लोभानिया, इटली हुँदै फ्रान्ससम्मको यात्राको जोखिमपूर्ण बाटोका लागि उनी तयार थिइन् । जंगलको बाटो त्यो पनि महिनौं दिनसम्मको पैदल यात्राका लागि उनी मानसिक रुपमा तयार भइन् ।

‘जीवनमा जे लेखेको छ त्यही भोग्नुपर्ने रहेछ’ उनी भन्छिन्, ‘जति नै दुःख भएपनि ठाउँमा त पुगिएला भन्ने आशले घरबाट थप ऋण काढेर ग्रिससम्म पुग्यौं ।’

ग्रिसदेखि अघि बढ्न चाहिँ पाकिस्तानी वा अफगानी एजेन्टको सहारा लिनुपर्ने थियो । ग्रिसमा २७ वर्षीय एक नेपाली युवक अभिषेक केसी (शरणार्थी शिविरमा प्रयोग भएको नाम तर राहदानीमा अर्कै नाम उल्लेख) भेटिए । उनीसँग श्रेयाको चिनजान भयो ।

‘नेपाली भेटेपछि सहयोगको आशा बढ्यो । त्यसमाथि अभिषेकको काम पनि मान्छे लैजाने–ल्याउने थियो । पाकिस्तानी, अफगानी भन्दा नेपालीमाथि विश्वास हुने नै भयो नि,’ उनले भनिन् ।

बेला बेला श्रेयालाई ग्रिसबाट हिँडौ भनेर अभिषेकले कर गरिरहन्थे । तर उनी अरु नेपाली केटी साथिहरु पाए मात्रै अघि बढ्ने सोचमा रहेको बताउँथिन् । श्रेया भन्छिन्, ‘कुरा हुँदै जाँदा उसले आफू पनि अब पोर्चुगलतिर सेटल हुने र मलाई फ्रान्ससम्म पुर्याइदिने बाचा गर्यो । मैले सोध्दाखेरि अरु १२–१५ जना नेपाली पनि छन् । तिमी एक्लै हुँदैनौ भन्थ्यो ।’

ग्रिसदेखि बोस्नियासम्म मान्छे ल्याउने र लैजाने काम गर्थ्यो ऊ । प्रायः बंगलादेशीहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने काममा अभिषेकले एजेन्टको रुपमा मद्दत गर्दथ्यो ।

‘काम लगाउनेले पैसा दिएनन् भन्थ्यो । पाकिस्तानीहरुसँग अघि बढौं भने पनि नराम्रो हुने डर । आफैंले चिनेको नेपाली मान्छे । त्यसमाथि १२–१५ जना अरु नेपालीहरु पनि छन् भनेपछि म ढुक्क नै भएर उसँग हिँडे’, श्रेया भन्छिन् ।

ग्रिसदेखि दुई–तीन दिनको पैदलयात्रा सकियो । तर श्रेयाले अरु नेपालीलाई भेटिनन् र आफू एक्लै रहेको चाल पाइन् । श्रेया भन्छिन्, ‘मैले उसलाई किन ढाँटेको भनेर सोधें । अरुलाई पुलिसले समात्यो । त्यसैले आउन पाएनन् भन्ने जवाफ दियो ।’

टर्कीदेखि इटाली पुग्न श्रेयालाई १३ महिना लाग्यो । जंगलको बाटोमा नेपाली एजेण्टले बलात्कार गर्‍यो  र बेपत्ता भयो । चार महिनाकी छोरीसहित अहिले उनी इटालीको एउटा शिविरमा छिन् । नेपाल कसरी युरोपका लागि मानव तस्करीको ‘निर्यात मुलुक’ बनिरहेको छ ?

एक्लै भएपछि श्रेयाले त्यहाँबाट पुनः ग्रिसतर्फ नै फर्कने निधो गरिन् । ‘यति धेरै खर्च भइसक्यो । जाडो महिना पनि आउँदै छ । चिसो बढेपछि हिउँले बाटोमा हिँड्न सकिंदैन,’ श्रेयालाई फेरि अभिषेकले सम्झायो ।

‘मैले विश्वास गरेर फेरि उसँग अघि बढें । बेला बखत टर्कीदेखि नै मैले तिमीलाई मन पराउथें भन्थ्यो ऊ,’ श्रेया भन्छिन्, ‘यात्राका क्रममा एक दिन उसले मलाई जबरजस्ती गर्यो, मैले केही गर्न सकिनँ । त्यतिबेला मलाई कस्तो भयो भन्ने मलाई मात्र थाहा छ ।’

ऋणको बोझ हलुका पार्न विदेश आएकी श्रेया यसरी अब मनको अर्को बोझ बोक्न बाध्य भइन् । ‘म पागल जस्तै भएकी थिएँ । मान्छेको त्यो अवस्था आएपछि फरक परिस्थिति हुने रहेछ,’ भक्कानिदै उनले भनिन्, ‘के खाएर जीउने भन्ने हुँदो रहेछ । म बिरामी परेँ । हिँड्न सक्तिनथें । बिस्तारै थाहा भयो म गर्भवती भएकी रहेछु ।’

गाउँ त्यस्तै, जंगल त्यस्तै । हिँडेर बोस्निया पुग्न नै उनलाई एक महिना लाग्यो । उनी बोस्नियाको सरायभो भन्ने ठाउँमा पुगिन् । त्यहाँबाट भियास भन्ने ठाउँमा जाँदा पुलिसले समात्यो । ‘त्यही बेला मसँग केही बोल्ने र भन्ने क्षमता थिएन । म बिरामी थिएँ । उसले हामी बुढा–बुढी हौं । मेरी श्रीमती बिरामी छन् भनेर पुलिसलाई बताएको रहेछ ।’

‘क्याम्पमा नौ दिन क्वारेन्टाइनमा बस्यौं । त्यहाँबाट अर्को ठाउँमा सार्यो । त्यहाँ चाहिँ नेपालीहरु भेटेका थियौं । उसले चिनेका मान्छेहरु क्याम्पमा नै रहेछन्,’ उनले भनिन्, ‘अभिषेकले मैले जबरजस्ती गरेको भनेर उनीहरुलाई नभन भन्दै मलाई सम्झायो । आफ्नो पहिले पनि बिहे भएको तर बच्चा नभएको कारणले डिभोर्स भएको भन्दै उसले मलाई माया गर्ने बताउँथ्यो ।’

त्यसैले अन्य नेपालीहरुको अगाडि श्रेयाले आफ्नो व्यथा पोखिनन् । त्यहाँबाट अघि बढ्ने निधो गरिन् । १६ दिन पैदल हिंडेपछि स्लोभानिया पुग्नै लाग्दा फेरि पुलिसले समात्यो र बोस्निया नै फर्काइदियो । ‘जाडो महिना सुरु हुन लागिसकेको थियो । हिउँ र पानी पर्न पनि सुरु भयो । अघि बढ्न सक्ने अवस्था नै रहेन । त्यसपछि म बोस्निया नै बसें,’ श्रेया भन्छिन्, ‘त्यतिबेला गर्भमा पाँच महिनाको बच्चा हुर्कदै थियो ।’

श्रेयालाई त्यहीँ छोडेर छिट्टै फर्कने बाचासहित अभिषेक ग्रिसतर्फ फर्कियो । उनी भन्छिन्, ‘मसँग भएको पैसा समेत लिएर ऊ बोस्नियातिर मान्छे ल्याउने भन्दै गएको हो ।’ अभिषेक र श्रेयाको त्यो नै अन्तिम भेट भयो । त्यसपछि ऊ श्रेयालाई भेट्न आएन । तर फोन सम्पर्कमा भने रहिरह्यो ।

इच्छा विपरीतको सम्बन्ध र पेटमा हुर्कदै गरेको बच्चाका कारण श्रेया चिन्तित थिइन् । अन्तत श्रेयाले २ जुलाई २०२१ मा छोरी जन्माइन् । बिरानो ठाउँ । शिविरको बसाइ । त्यसमाथि अस्पतालमा उनी एक्लै थिइन् । छोरीको नाम समेत डाक्टरहरुले नै राखिदिए ।

‘ग्रिसबाट बोस्निया आएर पनि अभिषेक हामीलाई भेट्न आएन’ श्रेयाले सुनाइन्, ‘नानी भएको छ, तिमी कहाँ छौ ? कहिले आउने ? भनेर मैले सोध्ने गर्थें । ‘बाटोमा छु, आउँदै छु,’ उसको जवाफ सधैं यही नै हुन्थ्यो ।’

छोरी जन्मिएको दुई महिना बितिसक्दा पनि अभिषेक सधैं भन्थ्यो– आउँदै छु । तर कहिल्यै आइपुगेन । भेट्नु त परको कुरा सम्पर्क हुने एउटै माध्यम ह्वाट्सएप पनि अभिषेकले ब्लक गरिदियो । जुलाई ५ मा श्रेयाले उसलाई पठाएको म्यासेज नै अन्तिम भयो । सुत्केरी अवस्था, नवजात शिशु, शरणार्थी शिविर र अभिषेकको पर्खाइले श्रेया झनै बेचैन भइन् ।

अभिषेकको भान्जालाई उनले सम्पर्क गरिन् । मामा इटाली जाँदै गरेको खबर भान्जाले सुनाए । अगष्ट २१ मा ऊ इटाली पुगिसकेको रहेछ । फेसबुकमा हालिसकेको फोटो साथीहरुमार्फत आफूले प्राप्त गरेको बताउँदै श्रेयाले भनिन्, ‘अब म के गरूँ ? पहिले त मर्न सजिलो थियो, सकिनँ । अहिले त छोरी पनि छ ।’

बोस्नियादेखि इटालीसम्म पुग्न उनले अफगानी परिवारको सहारा लिइन् । श्रेयाको अवस्था देखेर उनीहरु समेत चिन्तित थिए । बाटोमा आफूहरुले सहयोग गर्ने भन्दै उनलाई ठूलो हिम्मत दिए । उनले दूधे बच्चा बोकेर इटाली पुग्ने हिम्मत गरिन् ।

बोस्नियादेखि इटाली पुग्न दुई महिना लाग्यो । सुत्केरी भएको दुई महिनामा पानी र जाडो थेग्दै, पिठ्युँमा बच्चा बोकेर, जंगलको बाटो पार गर्दै उनी गत महिना अक्टोबर दोस्रो साता इटाली पुगिन् ।

‘इटाली पुग्दा छोरी बिरामी परिन्,’ श्रेया भन्छिन्, ‘त्यति बेला एकदमै दुःख लाग्यो । सन्तानप्रतिको माया मैले त्यतिबेला बुझें । मनलाई सम्झाउन निक्कै गाह्रो भयो ।’

यो उतार चढावबारे श्रेयाको परिवारलाई पनि थाहा छ । उनका दिदीहरुले फोनबाटै सम्झाउँछन् । ‘आमासँग भने कुरा भएको छैन । बुवालाई वृतान्त सुनाएकी उनी बताउँछिन् । बुबाले ‘राम्रो नराम्रो जस्तो भए पनि भइहाल्यो । राम्रोसँग ख्याल गरेर नानीलाई लिएर जाउँ । छोरीको भविष्यको लागि केही गर,’ भनेको श्रेयाको भनाइ छ ।

घटनाबारे अभिषेकको परिवार पनि जानकार रहेको श्रेयाको भनाइ छ । उनको भनाइमा अभिषेकको परिवारलाई पनि यो घटना थाहा छ । ऊ पहिले नै विवाहित रहेछ । एकपटक उसकी श्रीमतीले पनि फोन गरेकी थिइन् । परिवारको अघि राम्रो बन्ने कोशिस उसले गर्यो ।

टर्कीदेखि इटालीसम्म आउन श्रेयालाई १३ महिना लाग्यो । उनी पहिले एक्ली थिइन् । अहिले उनीसँगै नवजात शिशुको भविष्य पनि जोडिएको छ । चार महिनाकी सुत्केरी उनी इटालीको एक शिविरमा शरण लिएर बसेकी छन् ।

‘उसले मेरो जीवनसँग नै खेलवाड गरेर गयो,’ श्रेया भन्छिन्, ‘उसले मलाई जवरजस्ती नगरेको भए मेरो आज यो अवस्था आउने थिएन । अलिकति पनि दया माया हुन्थ्यो भने आफ्नो बच्चालाई किन छाडेर जान्थ्यो ?’

‘एउटा बच्चा म पालि हाल्छु । यति दुःख गरेर आएकी छु । म यही बस्छु’, उनले भनिन्, ‘म नेपालदेखि यहाँसम्म आइपुग्दा लाखौं ऋण लागेको छ । त्योमाथि मेरो बच्चाको जिम्मेवारी पनि थपिएको छ । नानीको भविष्यको लागि पनि म थप संघर्ष गर्न चाहन्छु ।’

विदेशमा नेपालीमाथि नेपालीबाट यस्तोसम्म हुन्छ भन्ने उनले सोचेकी थिइनन् । आफ्नो पीडा सम्झदै श्रेयाले भनिन्, ‘मलाई जस्तै अरु चेलीबेटीहरुलाई यस्तो नहोस् । यसको कर्तुत बाहिर निकाल्नुपर्छ भनेर मैले बोल्ने आँट गरेकी हुँ ।’

अभिषेकलाई कारवाही होस् भन्ने उनको चाहना छ । ‘यो मान्छे बेपत्ता छ । मेरो पैसा पनि लिएको छ’ श्रेयाले भनिन्, ‘एक त मेरो जीवन बरबाद बनाइदियो, अर्को मसँग भएको पैसा पनि लिएर गयो, म ऋणमा डुबेकी छु । एक नेपालीले मरेतुल्य बनायो तर अफगानीहरुले मलाई मर्नबाट बचाए ।’

अहिले छोरीका लागि जिउने बलियो अठोट गरेकी श्रेया भन्छिन्, ‘फेरि पनि म भन्छु, उसलाई कडा भन्दा कडा कारबाही होस् । मेरो पैसा पनि फिर्ता होस् ।’ अनलाइनखबर

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.