काठमाडौं । त्रिदेशीय फुटबलअन्तर्गत आज नेपालले बंगलादेशसँग फाइनल खेल खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ५ः३० बजे सुरु हुनेछ ।
यसअघिका दुई खेलमा नेपाली टोलीले गोल गर्न सकेको थिएन । आजको खेलमा गोल गर्दै उपाधि जित्ने योजना बनाएको छ । पछिल्लो समय नेपालले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गोल भने गर्न सकेको छैन ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी हरि खड्काले आजको खेलमा स्ट्राइकरको मुभमेन्ट धेरै हुनुपर्नेमा जोड दिए । “नेपालको प्रदर्शन त पहिलेदेखि नै छ । मात्र गोल गर्न नसकेको हो । त्यसको लागि नेपालले मिडफिल्ड तथा प्ले मेकरको भूमिका राम्रो बनाउन आवश्यक छ । स्ट्राइकरको भूमिकालाई पनि राम्रो बनाउन पर्छ । स्ट्राइकरको मुभमेन्ट पनि अलि धेरै हुन आवश्यक छ,” खड्काले बाह्रखरीसँग भने ।
उनले राइट साइटको स्ट्राइकरको लाइनमा मुभमेन्ट अलि कम भएकाले त्यसलाई बलियो बनाउन आवश्यक रहेको बताए । आजको खेलमा स्कोरिङ लाइनलाई बलियो बनाउन आवश्यक रहेको उनले औँल्याए ।
“बंगलादेशले आजको खेलमा डिफेन्सिप खेल्न सक्छ । त्यसको लागि नेपालले आजको खेलमा केही नयाँ उपाय अपनाउन अवश्यक छ । अट्याकिङ खेलमा बढी फोकस गराउन सकेमा राम्रो खेल हुनेछ,” उनले भने ।
खड्का अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले नेपालका लागि ४१ खेल खेल्दै १३ गोल गरेका छन् । उनले लामो समय नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको भूमिका निभाएका थिए ।
उनको प्रशिक्षकत्वमा नेपालले साफ महिला फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको थियो ।