सुशान्तको हत्या नभई आत्महत्या भएको पुष्टि भएको छ।
अल इण्डिया मेडिकल इन्सिट्यूट अफ मेडिकल साइन्सेस(एम्स)को फरेन्सिक चिकित्सा विभागबाट गठित मेडिकल बोर्डले यसको पुष्टि गरेको हो।
"यो झुण्डिएर गरिएको आत्महत्याका कारण भएको मृत्यु हो" बोर्डका अध्यक्ष डा. सुधिर गुप्ताले भने।
गुप्ता सुशान्तको मृत्युको अनुसन्धान गर्न गठित फरेन्सिक बोर्डका अध्यक्ष हुन्।
अभिनेता सुशान्त मुम्बई स्थित आफ्नो अपार्टमेन्टमा जुन १४ मा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
"दिवंगत अभिनेताको शरिरमा झुण्डिदां बन्ने चोट बाहेक अन्य चोट भेटिएन। हामीले शरीर र कपडामा कुनै संघर्ष वा झगडाको कुनै निशान फेला पारेनौ " गुप्ताले भने।
यसअघि घटनाको जाँच गरेको मुम्बई प्रहरीले केन्द्रीय जाँच ब्यूरोलाई अगस्टमा आफूहरू सुशान्तले झुण्डिएर आत्महत्या गरेका हुन् भन्नेमा विस्वस्त भएको र घटनामा प्रमाणसँग छेडखानी नगरेको बताएका थिए।
यध्यपी राजपुत परिवारका वकिल विकाश सिंहले सेप्टेम्बर २५ मा यसलाई घाँटी थिचेर हत्या गरिएको बताउँदै सिबिआईले यसलाई हत्या बताउन ढिला गरेकोमा आफू निराश भएको बताएका थिए।
एम्सले भिसेरा परीक्षण गर्दै सुशान्तको मृत्यु विषबाट नभएको पुष्टि गरेको छ। डा. गुप्ताले परीक्षणमा विषको कुनै पनि संकेतहरू नपाइएको बताए।
मुम्बईको फ्रेन्सिक प्रयोगशालाले पनि मुम्बई प्रहरीलाई यही रिपोर्ट दिएको थियो।