उपत्यकामा हर्न कडाइ, एकैदिन १८८ चालक कारवाहीमा

  • १६२
  • मंगलवार, १० मंसिर २०७६

काठमाडौं । ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले सोमबार मात्र १८८ सवारीसाधनलाई कारवाही गरेको छ ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको प्रहरीले जनाएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी गम्भीर दुर्घटना हुने खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने खतरानाक मोड र चोकमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए ।

“ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ, ”उनले भने ।

यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । महाशाखाले २०७४ वैशाख १ देखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीसाधनलाई कारवाही गरिसकेको छ । यसै मंसिर महिनामा मात्रै विशेष अभियान सञ्चालन गरि ५९८ सवारी साधन कारवाहीमा परेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १६४ को (ग) अनुसार ट्राफिक प्रहरीले कारवाही प्रक्रिया चलाउँदै आएको छ ।

उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ५ सय रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.