काठमाडौं | प्याजको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन । दशैंको मुखैमा भारतले अनिश्चितकालका लागि सुकेको प्याज निर्यात बन्द गरेपछि सुरु भएको प्याजको मू्ल्य बढ्ने क्रम अझै रोकिएको छैन । प्याजको मूल्य अहिले दुई सय रुपैयाँ पुगेको छ ।
यसैबीच कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ बजार सञ्चालक अधिकृत मनोज धितालले प्याजको मूल्य प्रतिकिलो दुई सय रुपैयाँ पुगेको जानकारी दिए । धितालका अनुसार हाल भारतले पूर्ण रुपमा प्याज आयात रोकेको छ । “भारतबाट प्याज आउने छोड्यो, नेपाली बजारमा चिनियाँ प्याजको आपूर्ति बढ्दो क्रममा छ,” उनले भने ।
नेपाल प्याजमा पूर्ण रुपमा भारतमा आश्रित थियो । भारत सरकारले असोज १२ गतेबाट अनिश्चितकालका लागि सुकेको प्याज निर्यात बन्द गरेको थियो । प्याजमा पूर्ण रूपले भारतमा निर्भर नेपालमा त्यसको असर तत्कालै सुरु भएको थियो । जसका कारण दसैंको मुखैमा भारतले प्याज निर्यातमा रोक लगाएपछि दसैंमा प्याजको मूल्य बढेको थियो । परिणामस्वरुप उपभोक्ताले एक किलो प्याजलाई २०० सय रुपैयाँसम्म तिरे । तर दशैंपछि घटेको प्याजको मूल्य फेरी प्रतिकिलो दुई सय रुपैयाँमा पुगेको छ ।
पछिल्लो एक महिनायता भारतमा प्याजको मूल्य अनियन्त्रित रूपमा बढ्दै गएपछि केन्द्र सरकारले निर्यातमा प्रतिबन्ध लगाएको थियो । निर्यात रोकेपछि भारतमा मूल्य घट्ने अनुमान गर्दै भारतीय विश्लेषकहरूले सरकारी कदमको स्वागत गरे । तर, यसबाट काठमाडौं लगायत नेपालका प्रमुख सहरमा प्याज अभाव सुरू भयो । त्यो क्रम अहिलेसम्म कायमै छ ।
यस अघि समितिले भारतले प्याज आयातमा प्रतिबन्ध लगाएपनि व्यापारिक सूत्र मार्फत अनौपचारिक बाटो हुँदै प्याज भित्रिएको बताए पनि पछिल्लो समय व्यापारिक अन्य बाटोबाट आयात हुने सबै सामान भारतीय सीमामा समातिन थालेपछि नेपाली बजारमा भारतीय प्याज आयात न्युन रहेको हो ।
भारतीय बजारबाट प्याज आउन छोडेपछि नेपाली बजारमा चिनियाँ प्याज भित्रिन सुरु गरेको हो । धितालका अनुसार चीनबाट दैनिक १० किलो बढी प्याज आयात भएको छ भने आयातको क्रम बढ्दो छ ।
आज कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो दुई सय रुपैयाँ र थोक मूल्य अधिकतम प्रतिकिलो १८० रुपैयाँ रहेको छ ।
यसैबीच, भन्सार विभागले गत आर्थिक वर्ष ०७५-७६ मा पाँच अर्ब २६ करोड ९६ लाख रुपैयाँको प्याज आयात भएको बताएको छ । आयातित १६ करोड ७९ लाख किलो प्याजमध्ये ९५ प्रतिशत भारतबाट आएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७४-७५ मा चार अर्ब ६६ करोड ६६ लाख रुपैयाँको प्याज आयात भएको थियो ।