हिन्दु धर्म अनुुसार नेपालमा परापूर्व कालदेखि महिनावारी हुदाँ बार्ने चलन चलिआएको छ । धार्मिक ग्रन्थ पुराणमा महिनावारी बार्ने गरेको चलन उल्लेख छ । हिन्दु धर्ममा महिनावारी हुदाँ हरेक महिलाले बार्नुपर्ने कुरा उल्लेख छ र हाम्रा पूर्खाहरुले त्यही संस्कारलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरी अहिलेसम्म पनि यो प्रचलन समाजबाट हट्न सकेको छैन । देवताको पालादेखी अपनाउदैँ आएर आजकालको समयमा अनिवार्य जस्तो भएको छ । विशेषगरी नेपालको ब्राहमण, क्षेत्री समुदायमा महिनावारी बार्नै पर्ने चलन रही आएको छ ।
एउटी महिला पहिलोपटक महिनावारी हुदाँ घर भन्दा टाढा गएर बस्नुपर्ने, लुक्नुपर्ने, केहि छुन नहुने, छुट्टै भान्सामा खाना पकाएर खानुपर्ने जस्ता बार्नुपर्ने कुराहरु रहेको ग्रन्थ पुराणमा उल्लेख गरिएको छ । सो बमोजिम आज पनि महिलाहरुले यस्तो प्रक्रिया अपनाउँदै आएका छन् ।
महिनावारी हरेक महिलामा हुने एक प्राकृतिक प्रकिया हो । महिनावारी हरेक महिलाको निम्ति अनिवार्य र पीडादायी अवस्था पनि हो । महिनावारी प्रारम्भ हुनु भनेको महिलाको शारीरिक विकासको सुरुवात हो । प्रारम्भिक कालमा हाम्रा पुर्खाहरुमा स्वास्थ्य सम्बन्धि ज्ञानको अभाव भएको र प्याड जस्ता साधनहरुको विकास नभएको कारण यो चलनलाई उनीहरुले आत्मसात गर्दै आएका हुन ।
हिन्दु चलन अनुसार महिनावारी भएकी महिलाले सात दिन नपुन्जेलसम्म उसलाई अपवित्र मानिन्छ र उनीहरुले पूजापाठ गर्न नहुने प्रचलन रही आएको छ । महिनावारी समयमा महिलाको तल्लो पेट दुख्ने, ढाड कम्मर दुख्ने, सुत्न बस्न पीडा हुने जस्ता निकै दर्दमय अवस्था रहेको हुन्छ । यस्तो समयमा महिलालाई बढि आराम, पोसिलो खानेकुराहरु, स्याहारसुसार, मायाको आवश्यकता पर्दछ । तर, घरपरिवार भन्दा टाढा बस्नुपर्ने, दिनभरि घाँस दाउरा गाई, भैँसी मेलापात गरेर मनपरेको र पोसिलो खानेकुराहरु खान, छुन नपाउनु जस्ता हाम्रा संस्कारले महिलालाई अस्वस्थ बनाउनमा प्रेरित गरेको छ ।
समय परिवर्तनसँगै महिनावारी बार्ने चलनमा थुप्रै कुराहरुमा परिवर्तन आइसकेको छ ।
जागिरे, शिक्षित परिवारका महिलाले महिनावारी बार्ने चलनको विरुद्धमा अघि बढ्दै आएका छन् । सेनेटरी प्याडको विकास र त्यसको प्रयोग हुन थालेको छ । महिलाहरु एउटै छतमुनि एउटै भान्सामा खाना खान थालेका छन्, घरका अन्य कामहरु पनि गर्न थालेका छन् । स्वास्थ्य सम्बन्धि प्रचारप्रसार र शिक्षाको कारणले महिनावारी बार्नुपर्ने अन्धविश्वासलाई हटाउनमा महत्वपूर्ण भूमिका खेलेको छ । यस्ता परिवर्तनहरु केवल विकसित, सहरी र शिक्षित समाजमा मात्र देख्न सकिन्छ ।
विज्ञानको आविष्कारहरु, सञ्चारका साधनहरु, स्वास्थ्ययुक्त, सामग्रीहरुको, जनचेतनामुलक कार्यक्रमहरुको विकास र सञ्चालन भएतापनि पुर्खाको चलनलाई अझै पनि अस्विकार गर्न नसक्नु नेपाली समाजको विडम्बना हो । साथै नेपालीहरुको अन्धविश्वासी सोचको कारण महिलाको अवस्था माथि उठ्न नसकेको हो । त्यसकारण हामा्रे परम्पराप्रतिको विश्वासको विरुद्धमा गएर महिनावारी बार्ने सोचाईमा परिवर्तन ल्याउन सकिन्छ । महिनावारीलाई अपवित्रको रुपमा नलिई पवित्रको रुपमा हेर्ने र बार्न नहुर्ने कुराको विकास हुने कुरामा महिलाहरुले अझै कति प्रतिक्षा गर्नुपर्ने हो ?
नेपालको सुदूरपश्चिमाञ्चल जस्ता कतिपय क्षेत्रहरुमा महिनावारीलाई छाउपडी प्रथाको रुपमा लिने गरेको पाइन्छ । सहरी, विकसीत क्षेत्रमा त अझैपनि पूर्ण रुपमा यो चलनलाई हटाउन सकिरहेको छैन, त्यसमा ग्रामिण क्षेत्रमा यो चलन हटाउन मुस्किल छ । केही समय पक्कै लाग्छ । तर, हट्दै हट्दैन भन्न सकिदैन । ग्रामिण क्षेत्रमा २/४ दिनको तालिम दिए जस्तो गरेर कार्यक्रम गर्ने पछि वेवास्ता गर्ने प्रवृतिले पनि यो चलनको अन्त्य हुन नसकेको विज्ञहरुको भनाइ रहेको छ । यो विषयसँग सम्बन्धित रहेर दिगो रुपमा कार्य गर्ने कुनै पनि संस्था रहेको छैनन । समाज विकास गर्न बाधकको रुपमा यस्ता कुराहरुलाई सूचिगत रुपमा धैरै पहिले राखिएता पनि यो समस्या गाउँ घरमा यथावत नै रहेको छ ।
प्रशिक्षार्थी पत्रकार : सुनिता दाहाल