यो वर्षको विजयादशमी कतै उत्सव, कतै शोक कतै पीडा बेहोरेर सकिएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई पीडा र शोक दुवै परेको छ भने नेपालको सांस्कृतिक उन्नयन र निरन्तरताको उत्सव उहाँको पार्टीका सबै नेताले बाँकी नेपाली जनतासँगै मनाउन पुगे । कतिपयका घरमा शोकको बास भयो । यो वर्ष बडादसैँ आरम्भ हुनुभन्दा केही पहिले र बडादसैँको मध्यमा नै ख्यातनामा सञ्चारकर्मी, साहित्यकार, कलाकार, राजनीतिकर्मीहरूको इहलीला समाप्त भयो । नागरिक राष्ट्रिय दैनिकका अभिभावक हेमराज ज्ञवाली र पत्रकार रामचन्द्र हुमागाईँको अवसान यसै समय हुन पुग्यो । हुमागाईँ जरोबाट उठेका पत्रकार थिए । ज्ञवालीले २०४६ को परिवर्तनसँगै नेपाली सञ्चार जगतलाई संस्थागत र औद्योगिकरूपमा स्थापित गर्न योगदान गर्नुभयो । आजको चर्चित कान्तिपुर समूह निर्माण गर्न उहाँ र उहाँका साथी÷सहयोगीहरूले बगाएको पसिना, समर्पण गरेको योग्यता, सिप र गरेको योगदान, अविस्मरणीय देखिन्छ।