यातायात सेवा दिँदै आएको पठाओ कम्पनीले प्रयोगकर्ताहरुबाट कमिसन बढायो

  • २७३
  • बुधबार, २२ जेठ २०७६

काठमाडौं । सर्वसाधारणलाई यातायात सेवा दिँदै आएको कम्पनी पठाओले आफ्नै प्रयोगकर्ताहरुबाट लिने कमिसन बढाएको छ । आफ्नै मोटरसाइकल प्रयोग गरेर पठाओमा काम गर्दै आएका मोटरसाइकल चालकहरु पठाओले आफूहरुबाट बढी कमिसन माग्ने गरेको रूष्ट बनेका छन् ।

“पहिला यात्रुबाट उठेको भाडाको पाँच प्रतिशत कमिसन लिन्थ्यो, अहिले बढाएर २० प्रतिशत पुर्‍याएको छ,” पठाओमा काम गर्दै आएका बा ९५ प ७१९४ नम्बर मोटरसाइकल चालक सागर परियारले भने, “हामीले यत्रो मेहनत गरेका छौं । यो कुरा कम्पनीले बुझ्नुपर्‍यो । पठाओले हामीलाई रोजगारी दिएको छ तर हाम्रो समस्या नबुझी उसले लिने कमिसन २० प्रतिशत पुर्‍याएको छ । हामी चालकपक्षको गुनासो यसैमा हो ।”

पठाओ कम्पनीले टुटलको तुलनामा बढी कमिसन मागेकाले पठाओमा काम गर्न असहज भएको चालहरुको गुनासो छ । पहिले मासिक ५० हजारसम्म कमाउँदै आएका चालकहरु पठाओले कमिसन दर बढाएपछि हाल मासिक ३० हजार कमाउन पनि गाह्रो रहेको बताउँछन् ।

अहिले काठमाडौंमा करिब २० हजार मोटरसाइकलले टुटल र पठाओमार्फत् सेवा दिँदै आएका छन् । टुटल र पठाओमै काम गर्दै आएका बा ३० प ८९४२ नम्बर मोटरसाइकल चालक दिनेश श्रेष्ठ पनि पठाओले कमिसन बढाएका कारण यसमा काम गरेको रकमले मोटरसाइकलमा तेल हाल्न, मर्मत गर्न र आफ्नो घरव्यवहार चलाउन नसकिने अवस्था आएको गुनासो गर्छन् ।

“एक हजार कमायो भने दुई सय पठाओलाई अनिवार्य बुझाउनुपर्छ । यसले गर्दा काम गरेर केही पैसा बचत हुने बाटो हराएको छ,” श्रेष्ठले भने, “यसैगरी कमिसन रकम बढाए यो काम गर्न सकिँदैन । केही महिनाअघि पाँच प्रतिशत कमिसन लिए पनि तीन-चार महिनायता पठाओले एक्कासि कमिसन रकम २० प्रतिशत पुर्‍याएर जे मन लाग्यो त्यही नियम लगाएका छन् ।”

पठाओले निश्चित घण्टा तोकेर चालकहरुलाई ‘क्वेस्ट’ तोक्ने गरेको छ । क्वेस्टका कारण निश्चित घन्टामा कम्पनीले तोकेको यात्रु संख्या कुनै समय खाली नराखी सेवा दिनुपर्ने दबाब चालकमा छ । “यसले हामीमा तीव्र प्रतिष्पर्धाका साथ मोटरसाइकल चलाउनुपर्ने बाध्यता उत्पन्न हुन्छ । जसले गर्दा एक्सिडेन्ट हुने चान्स धेरै हुन्छ । ट्राफिक जामका कारण क्वेस्ट मिट गर्न पनि धेरै गाह्रो हुन्छ,” चालक परियारले भने ।

पठाओभन्दा टुटलको कमिसन प्रमोसन सहज रहेको चालकहरु बताउँछन् । टुटल र पठाओमा कार्यरत चालकहरुले यात्रु ओसार्दा मोटरसाइकलले दैनिक औसतमा २ देखि ३ लिटरसम्म पेट्रोल खर्च हुने गर्छ ।

मोटरसाइकलको मेन्टेनेन्समा मासिक तीन हजारसम्म खर्च हुने चालकहरु बताउँछन् । “सामान्य मेन्टेनेन्स गर्दा मात्रै तीन हजार खर्च हुन्छ । केही पार्ट्स बिग्रिँदा यो खर्च बढ्ने गर्छ,” चालक श्रेष्ठले भने । यता पठाओ कम्पनीले भने माग र पूर्तिको सन्तुलन कायम राख्न पछिल्लो समय चालकहरुलाई कमिसनको दर बढाएको बताएको छ ।

“माग र पूर्तिको अवस्थालाई अध्ययन गरेर चालकहरुबाट २५ प्रतिशतसम्म कमिसन लिने हाम्रो अवधारणा हो । हामीले सुरुमै चालकहरुलाई पाँचदेखि २५ प्रतिशतसम्म कमिसन लिने जानकारी गराइसकेका छौं । पहिला यात्रुको संख्या धेरै थियो, त्यसैले चालकहरुबाट पाँच प्रतिशत कमिसन लिन्थ्यौं । अहिले यात्रुको तुलनामा चालकहरुको संख्या ह्वात्तै बढेको छ । त्यसैले चालकहरुबाट लिने कमिसन २० प्रतिशत पुर्‍याएका छौं,” पठाओका प्रबन्धक शशांक थापाले भने, “अमेरिकामा उभर, सिंगापुरमा ग्राभ, इनडोनेसियामा ओजेक, चीनमा डिजी र भारतमा ओलाले यही आधारमा ट्रान्सफर सर्भिस दिने गरेका छन् । पठाओको पोलिसी पनि यिनीहरुको जस्तै हो । पहिला थोरै कमिसन बुझाउँदा हुन्थ्यो, अहिले धेरै कमिसन बुझाउनु परेकाले चालकहरुमा केही अन्योल हुनसक्छ । भोलिका दिनमा चालकको संख्या घट्यो र यात्रुको संख्या बढ्यो भने कमिसन पर्सेन्टेज घटाउने छौं ।”

यस्तै टुटलले पनि उपलब्ध यात्रुभन्दा चालकको संख्या बढी हुने अवस्था आए चालकले पाउने रकममा थप प्रतिशत कटौती गर्ने बताएको छ । काठमाडौंमा एक वर्षदेखि टुटल र पठाओले मोबाइल एप्सको प्रयोगबाट मोटरसाइकल र स्कुटरमार्फत् यात्रुलाई विभिन्न गन्तव्यमा पुर्‍याउने व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.